December 28th, 2022

इन्स्टाग्राम र फेसबुक रिल्स अब आधिकारिक रूपमा नेपालमा उपलब्ध हुने भएका छन् । संगीत रोयल्टी संकलन समाज नेपालले फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासँग सम्झौता गरेसँगै इन्स्टाग्राम र फेसबुक रिल्स आधिकारिक रूपमा उपलब्ध हुने भएका हुन् ।

 

संगीत रोयल्टी संकलन समाज नेपालले संगीत लाइसेन्स र प्रकाशनका लागि मेटासँग सम्झौता गरेको हो । यो सम्झौताले कलाकार र संगीत रोयल्टी संकलन समाज नेपालका सदस्यहरूलाई संगीत रचनाको रोयल्टी उपलब्ध गराउन सहयोग पुग्नेछ ।

 

विश्वभर रोयल्टी संकलनका लागि नेपालबाट हस्ताक्षर भएको यो पहिलो अन्तर्राष्ट्रिय सम्झौता हो । संगीत रोयल्टी संकलन समाज नेपाल नेपालको प्रतिलिपी अधिकार कानुन अन्तर्गत स्थापना भएको गैर सरकारी र नन प्रफिट संस्था हो । यसले लेखक र रचनाकारहरूको अधिकारको संरक्षण र व्यवस्थापन गर्छ ।
Source: Online Khabar